भारत अंग्रेजले बनाएको होइन

47
  •  
  •  
  •  

‘हामीलाई पनि भारत जस्तै अंग्रेजहरूले शासन गरेको भए हुन्थ्यो । केही नभए पनि भारतको स्तरसम्म त पुग्थ्यौं होला अहिलेसम्म ’

स्कूल पढ्दा साथीहरूको यस्तो विचार मलाई केही हदसम्म ठीकै लाग्दथ्यो । सामाजिक शिक्षाको किताबमा हामीले ‘गौरवमय इतिहासमा नेपाल कुनै पनि देशको उपनिवेश भएको छैन’ भन्ने पढ्दै आएका थियौं ।

तर यो ‘गौरवमय इतिहास’ ले के नै दियो र हामीलाई जस्तो लाग्दथ्यो । साथीहरूले भने जस्तै साँच्चिकै नै हाम्रो छिमेकी राष्ट्र भारतलाई जस्तै नेपालमा पनि अंग्रेजहरूले शासन गरेको भए, नेपाल पनि धेरै अगाडि पुग्थ्यो होला ।

मेरो यो सोच त्यतिबेला अझ् प्रगाढ बन्दै गयो, जब म उच्च शिक्षाको लागि दिल्ली गएँ । त्यहाँका ठूला–ठूला बाटा–घाटा, जहाँ जान पनि रेलको सुविधा, विश्वस्तरका शैक्षिक संस्था र सँगै पढ्ने साथीहरूले फरर्र अंग्रेजी बोलेको सुन्दा अंग्रेजहरूले साँच्चिकै नै भारतमा गज्जब ‘लिगेसी’ छोडेका रहेछन् जस्तो लाग्यो ।

अभिजित शर्मा

तर केही समय अगाडि भारतका चर्चित लेखक एवं राजनीतिज्ञ शशि थरुरद्वारा लिखित ‘एन एरा अफ डार्कनेस’ (अन्धकारको एउटा युग) नामक किताबले मेरो साविकको सोचाइ पूरै बदलिदियो ।

विश्लेषणात्मक र समीक्षात्मक लेखहरू लेखिरहने अनि फरक धारको विचार प्रस्तुत गर्न माहिर थरुरले आफ्नो गहन अनुसन्धान पछि लेखेको यस किताबमा कसरी अंग्रेजहरूको उपनिवेशका कारण भारतको अर्थतन्त्र, समाज र सम्पूर्ण राष्ट्र नै ध्वस्त हुन गयो भन्ने तर्क प्रस्तुत गरिएको छ ।

लगभग १०० वर्षको अंग्रेज शासनको दौरानमा भारतले आफ्नो सार्वभौम सत्ता मात्रै गुमाएन, आफ्नो संस्कृति, परम्परा, रीतिरिवाज पनि धेरै हदसम्म गुमाउन पुग्यो ।

भारतमा अंग्रेजहरूको देन भनिएका कुनै पनि कुरा अंग्रेजहरूले भारतलाई माया गरेर नदिएको, बरु आफ्नो स्वार्थ परिपूर्ति गर्न मात्र दिएको कुरा लेखक थरुरले कहिले रोचक एवं कहिले मार्मिक तथ्यहरू दिएर स्पष्ट पारेका छन् ।

विश्वको शक्ति राष्ट्र बन्ने तर्खर गर्दै रहेको भारतको विकासमा अंग्रेजहरूको ठूलो हात छ भन्ने धेरैको तर्क छ । तर लेखकले यो किताबको शुरूआतमै त्यस कुराको खण्डन गरेका छन् । इष्ट इन्डिया कम्पनीले भारतमा खुट्टा टेक्नुअघि विश्व अर्थतन्त्रमा भारतको २३ प्रतिशत योगदान थियो ।

अर्थात् भारत त्यसबेला नै आर्थिक रूपमा धेरै समृद्ध थियो र विश्वको शक्ति राष्ट्र बन्न सक्ने क्षमता राख्दथ्यो भन्ने थरुरको दाबी छ । सन् १९४७ मा अंग्रेजहरूले भारत छोड्दा यो आँकडा ३ प्रतिशमा झ्रेको थियो । भारतको अर्थतन्त्रलाई ध्वस्त बनाउन अंग्रेजहरूले खेलेको भूमिका बुझउन शायद योभन्दा राम्रो उदाहरण अरू नहुन सक्छ ।

उदाहरणको क्रममा लेखकले अंग्रेजी भाषालाई पनि उल्लेख गरेका छन् । भारतको संविधानले समेत आधिकारिक मानेको अंग्रेजी भाषा अंग्रेजहरूकै देन हो भनिन्छ । सरकारी जागिर खाने कर्मचारी हुन् अथवा स्कूल पढ्ने विद्यार्थी, भारतीय नागरिकहरूमा अंग्रेजी भाषाको राम्रो पकड छ ।

तर यसमा अंग्रेजहरूको कुनै हात नभएको लेखकको कथन छ । अंग्रेजहरूको उद्देश्य भारतीयहरूलाई अंग्रेजीमा पोख्त बनाउने छँदै थिएन । थरुर लेख्छन्, ‘आफ्नो सरकारी काम गर्न सजिलो होस् भन्ने मनसायले अंग्रेजहरूले केही चुनिएका भारतीयहरूलाई पढ्ने अवसर दिएका थिए ।’

यसको साक्षी भारतको न्यून साक्षरता दर हो । सन् १९४७ मा भारतको साक्षरता जम्मा १६ प्रतिशत मात्रै थियो । अर्थात् अंग्रेजले भारतीयलाई अंग्रेजी मात्र होइन केही पनि पढाएनन् भन्ने लेखकको जिकिर छ ।

अंग्रेजको ‘योगदान’ न्यूनीकरण गर्ने क्रममा थरुर अर्को उदाहरण अघि सार्छन्— भारतीय रेलको । सबैभन्दा बढी प्रयोग हुने र गरीबदेखि धनीहरूलाई यातायातको सुविधा दिंदै आएको भारतीय रेललाई धेरैले अंग्रेजको देन भन्ने गरेका छन् ।

भारतीय रेलको शुरूआत र विस्तार अंग्रेजहरूले नै गरेका थिए भन्ने कुरामा पनि कुनै दुईमत छैन । तर उनीहरूले यसको शुरूआत भारतलाई सहयोग गर्न भनेर पक्कै गरेका थिएनन् भन्ने कुरा लेखकको ठहर छ । यसको निर्माण निम्न वर्गीय र निमुखा भारतीय जनताबाटै उठाइएको करबाट गरिएको थियो । अझ् यसको निर्माण र विस्तारको क्रममा ठूलो भ्रष्टाचार पनि भएको थियो ।

भारतका लाखौं जनता भोकमरी एवं गरीबीको शिकार भइरहेको बेला उनीहरूबाटै पैसा उठाएर अंग्रेजहरूले आफूलाई चाहिने माल–सामान ओसार्न भारतीय रेलको विस्तार गरेका थिए । यो रेलमा भारतीयहरूलाई तेस्रो श्रेणी बाहेक माथिको श्रेणीमा बस्न समेत दिइँदैनथ्यो ।

भारतलाई अंग्रेजको देन मानिने अर्को ठूलो कुरा हो— भारतको संसदीय प्रणाली र त्यहाँको प्रजातान्त्रिक मूल्य तथा मान्यता । तर यसमा समेत थरुरले आफ्नो फरक धारणा दिएका छन् । भारतको संसदीय प्रणाली साँच्चिकै नै उदाहरणीय भए पनि यो अंग्रेजहरूको देन भने नभएको लेख्छन् उनी ।

थरुरको विचारमा भारतीय संसदीय प्रणालीलाई मजबूत बनाउने काम अंग्रेजहरूले नभई त्यस बेलाका नेताहरू नेहरू र पटेलले गरेका थिए ।

अंग्रेजहरूले त उल्टै भारतमा वर्षौंदेखि चलिआएको र गाउँ–गाउँमा भएको प्रजातान्त्रिक पञ्चायती व्यवस्थालाई बिगार्ने काम मात्रै गरे । गाउँ–गाउँमा भएको सभालाई बिथोल्ने काम गरी हिन्दू मुसलमानबीचको दुश्मनी चर्काउनमा अंग्रेजहरूको ठूलो हात रहेको लेखकको दाबी छ ।

‘फुटाउ र राज गर’ को नीति अन्तर्गत अंग्रेजहरूले दुई समुदायलाई हरदम एकआपसमा लडाइ रहे । आखिरमा उनीहरूले भारतलाई टुक्र्याइ नै दिए ।

थरुरले किताबमा अंग्रेजले भारतमा स्वामित्व जमाउँदा भएका भोकमरीका घटनाका बारेमा पनि चर्चा गरेका छन् । भारतीय जनतालाई उत्थान गर्ने त परको कुरा, कसरी अंग्रेजहरूले उनीहरूलाई निर्ममतापूर्वक व्यवहार गरे भन्ने दर्साउन लेखकले बंगाल, मद्रास र मुम्बईका भोकमरीहरूको विस्तारमा चर्चा गरेका छन् ।

अंग्रेजहरूको लापरबाहीका कारण भएका यस्ता भोकमरीमा लाखौं भारतीयले ज्यान गुमाए । विश्व इतिहासमा राजनेता मानिने विन्स्टन चर्चिलले सन् १९३० को दशकको भोकमरीको सन्दर्भ जोडेर भनेको भनाइलाई लेखकले बडो जोड दिएर उल्लेख गरेका छन्, ‘यत्रो भोकमरी भैसक्यो, ती गान्धी अझै मरेका छैनन् ?’

माथि छलफल गरिएका तर्कहरू किताबमा भएका केही उदाहरण मात्रै हुन् । थरुरले राजनीतिक, सामाजिक र आर्थिक क्षेत्र मात्रै नभै विभिन्न अरू क्षेत्रमा समेत अंग्रेजहरूको कसरी प्रभाव रह्यो भन्ने कुरालाई रोचक तरिकाले उठाएका छन् ।

भारतको दुःखद कालखण्डको तथ्य प्रस्तुत गर्ने क्रममा थरुरको तर्क के पनि छ भने सतहमा देखिने विभिन्न उपलब्धिहरू अंग्रेजहरूको स्वार्थ पूरा गर्ने उपक्रमका सहायक–उत्पादन (by product) थिए । अर्थात्, अंग्रेजहरूले आफ्नो प्रयोजनको लागि ल्याएका भए पनि त्यस्ता प्रविधि र वस्तुबाट भारतीयहरूलाई अप्रत्यक्ष रूपले सहयोग पुग्यो ।
सरल भाषा तर गहन अध्ययन पछि लेखिएको यस किताबले कसरी अंग्रेजहरूको शासन भारतको लागि एउटा कालो कालखण्ड थियो भन्ने कुरा प्रष्ट पार्छ ।

किताबको अन्त्यमा थरुरले बडो रोचक तरिकाले लेखेका छन्, ‘आफूले गरेको ज्यादतीको लागि अंग्रेजहरूले भारतलाई क्षतिपूर्ति स्वरूप मुआब्जा दिनुपर्छ । तर त्यो पैसामा भने पक्कै होइन । अंग्रेजले भारतलाई दिन सक्ने सबैभन्दा ठूलो मुआब्जा हो ‘आफूले गरेको गल्तीहरूका लागि माफी माग्ने ।’

शैक्षिक क्षेत्रमा काम गर्ने शिक्षक तथा विद्यार्थीहरूलाई भने यो किताबको सबैभन्दा ठूलो पाठ हो— कुनै पनि तर्कलाई एउटै आँखाले मात्र हेर्नुहुँदैन, त्यसलाई विभिन्न कोणबाट नियाल्नुपर्दछ ।

पुस्तक : एन एरा अफ डार्कनेस स् द ब्रिटिश इम्पायर इन इन्डिया
लेखक : शशि थरुर प्रकाशकः अलेफ बुक कम्पनी, नयाँदिल्ली, २०१६
पृष्ठः ३६०ं मूल्यः भा.रुः ३७५

(यो लेख यसअघि शिक्षक मासिकमा प्रकाशित भइसकेको छ ।)


  •  
  •  
  •