आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइँदै

558
  •  
  •  
  •  

bakar id
काठमाडौँ, १८ भदौ (ओएनएस) : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । यो पर्व मनाउन आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

हिजरी संवत्अनुसार १४३६ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष निर्दोष अलीले जानकारी दिए ।

bakar eidयसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्रीलगायतले इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इदुल जोहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश जारी गर्दै विविध धार्मिक तथा सांस्कृतिक मान्यताको धनी हाम्रो मुलुकमा मनाइने यस्ता पर्वले सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवं आपसी सद्भाव कायम गर्न योगदान पु¥याएको उल्लेख गरेकी छन् ।


  •  
  •  
  •