बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

माग्दिन म माफी ऋषिपञ्चमी पूजामा

Ranju-Darshanaदर खाने दिन र हरितालिका तीज बाल्यकाल देखि नै रमाइलो लाग्ने दिनहरुमा पर्थे।

पहिलो कारण चाहिँ एकैचोटी तीन दिन स्कुल बिदा हुने, दोस्रो चाहिँ दर खाने दिन ठूलो ममीको छोराको जन्मदिन र तीजको दिन चाहिँ आफ्नो ठूलो मामाको जन्मदिन अनि तेस्रो कारण चाहिँ दर खाने दिन हजुरआमाले दरको खिर भन्दै खिर खुवाउने र जताततै आमा, दिदि बहिनीहरु सबैजना मग्न भएर नाँचगाना गर्दै रमाउने। एकै ठाउँमा धेरै दिदीबहिनी एकैसाथ देखिनुहुन्थ्यो, त्यो पनि रमाईलो लाग्थ्यो।

तीजको पर्सी पल्ट भने माँ बिहानै नुहाई धुवाई गरेर पूजाको तैयारी गर्नुहुन्थ्यो । ऋषिपञ्चमी पूजा भनेर चाहिँ थाहा थियो तर ठ्याक्कै के हो मुल कुरा भन्ने त आफुले नै पहिलो पटक पूजामा बसेपछि पो थाहा भयो। त्यसपछि सो पूजाको आशानीमा आसान हुन यो मन भित्रको भगवानले मानेनन् । पहिला पहिला भने सबै दिदी बहिनीहरु एकसाथ पूजामा बसेको देख्दा, म मात्रै छुटेको जस्तो लाग्थ्यो । कहिले मैले पनि सँगै पूजा गर्न पाउने होला भन्ने लाग्थ्यो। अहिले सम्झंदा हाँसो लाग्छ।

ऋषिपञ्चमी पूजाको मेरो पहिलो अनुभवको बेला जब गुरुले, ‘महिनावारी हुँदा मेरो तर्फबाट जानेर–नजानेर भएको गल्ती, पापको लागि म माफी माग्दछु’ भन्नु भने तब यो खुट्टाको औंला देखि शिरसम्म सिरिंग पो भएँ म। यो वर्ष भरी मैले जान–अन्जानमा गरेको गल्तीको लागि माफी माग्दछु भन्ने नै पूजाको मर्म भएको भए नि खुशी साथ सोहि गर्थें हुँला तर यहाँ त मेरो प्रजनन स्वास्थ्य अन्तर्गतको प्राकृतिक चक्रको नै अपमान भएको अवस्थामा कसरी खुशी हुनु म ।

पहिलो ऋषिपञ्चमी पूजा सकिएपछि हरेक वर्ष मैले यो पूजा गर्न नपरे नि हुन्थ्यो भनेर अपेक्षा गर्न थालें। ‘महिनावारी ठ्याक्कै यहि बेला भइदिए पनि हुने कमसेकम यहि बहानाले मलाई पूजा गर्नबाट छुट त मिल्थ्यो’ भन्ने सोच्थें ।

तर पूजा गरेन भने घरमा बहुत टेनसन । ममीको पूरै इमोसनल बल्याकमेल सुरु भइहाल्ने । मलाई पनि लाग्यो यो पूजाको परिभाषा नै पनि त बदल्न सकिएला नि । त्यहि भएर केहि वर्ष यता ऋषिपञ्चमी पूजा माफी माग्न होइन धन्यवाद भन्नलाई गर्न थालें।

धन्यवाद । मलाई सृष्टिजगत, मानव सभ्यतालाई निरन्तरता यस्तो वरदान दिएकोमा।
धन्यवाद । मलाई महिनावारी भएको बेला, कष्ट सहने शक्ति दिएकोमा।
धन्यवाद । मलाई नारी भएर जन्मने सु–अवसर प्रदान गरेकोमा।

मैले आफूले त धन्यवाद दिन थालें तर अझै धेरै दिदी बहिनीहरु परम्पराको नाममा बिना कुनै गल्ती माफी माग्दै हुनुहुन्छ । आफ्नो प्राकृतिक चक्रको थाहै नपाई गरिएको अपमानमा हाँस्दै हुनुहुन्छ।

मैले यति लेखिसक्दा र कार्यान्वयन गर्दा धेरैले परम्परा विरोधी, धर्म नमान्ने भनेर ट्याग नै लगाइदिनु पनि हुन्छ होला तर मेरो धर्मले मलाई सिकाएको अन्धविश्वासमा नपर्नु, सत्यताको यात्रा कठिन भएपनि अडिग भइ लड्नु र मानवताको धर्म नै सर्वश्रेष्ठ धर्म हो। त्यहि भएर म त सत्य र प्रैक्टिकल कुरा कै समर्थनमा अडिग रहन्छु, तपाईलाई पनि रहन स्वागत गर्छु।

यहि विषयमा हिजो जन्मत्सव र तीजको जमघटका दौरान, ठूलोमामा–माइजु, ठूलोममी, भाउजुहरुबीच छलफल चल्यो यहि ‘नछुनी’ बारे।
हामीले अहिलेको जमाना पनि आएर ‘छुई–छुई’ भनेर मान्ने हो ? पहिले पहिले हजुरआमाको पालामा महिनावारी भएको बेला उचित व्यवस्थापन गर्न अहिले हामीसँग भएका जस्तो केहि सामग्री थिएन न जनचेतना नै थियो।

धोतीको केहि भागले रजस्वलाको रगत थाम्ने अनि धारामा सोहि धोती धोएर पुनः प्रयोग गर्नुहुन्थ्यो रे हाम्रो हजुरआमाले पनि । अहिले त धेरै सुधार भएको छ । विकट क्षेत्रमा सुधार हुने क्रममा छ । त्यहि पनि यो मान्ने । अनि ऋषिपञ्चमीको दिन महिनावारी भएको बेला हुन गएका छुवाई जसलाई पापको संज्ञा दिएको छ, त्यसको लागि माफी माग्ने ?’ के मानिरहेका छौं यो हामीले ?’ भनेर मैले भने पश्चात मेरो जेठी ठूलोममीले, “भगवान बाहेक अरु सबै थोक छुन पाइन्छ त अहिले । मात्र पूजा कोठा र भगवानलाई चाहिँ आफ्नै मनको डरले गर्दा छुन नजाने हो नत्र कुनै पनि धार्मिक किताबमा नछुनु भनेर लेखेको त छैन । मात्र मानिसहरुले के के आफूलाई पायक पर्ने गरी कुरा मोड्दै गएको त हो नि’ भन्दा मैले थालेको मौन क्रान्तिमा उर्जा बढेर आयो।

रुढीबाधी समाजमा हुर्केर पनि ठूलोममीले अहिले आएर यस्तो मज्जाको कुरा गर्नु मेरो लागि आश्चर्यजनक थियो। कमसेकम फोटा र मूर्तिका भगवानलाई पूज्नेबाहेक अरु ठोक गर्नसम्म अब ‘पाप’ नठान्ने पात्रहरु सामजमा बढ्दै छन् भन्ने कुराले मलाई धेरै खुसी बनायो।
महिनावारी हुँदा भौतिक पूजा कोठा भित्र रहेका फोटा र मुर्तिलाई पूज्न प्रतिबन्ध भए पनि मन भित्र आसिन रहेका सीता–रामले सधैँ आफ्नो द्वार खुल्ला राखे ।

राधा–कृष्णले पनि सधैँ स्वागत गरे। सरस्वती, लक्ष्मी, काली, भगवतीले मेरो पेटको, शरीरको दुखाई बुझेर सायद झन् बढि माया दिइराख्नुभयो। महिनावारी भएको बेला कुनै पनि भगवानले ‘मलाई नसम्झिनु पाप लाग्छ’ भनेनन्। भन्छन् सबै भन्दा ठूलो भगवान आफैं भित्र हुन्छन्, र विश्वास गर्नुस् यी भगवानले कहिल्यै पनि नसम्झ हामीलाई तिमी महिनावारिमा छौ भन्दैनन्, बरु अन्तर हृदयदेखि आफ्नो नजिकको भगवानलाई पुकारनुस् तपाईलाई बरु साथ दिन्छन्।

उता हजुरआमाले भने हाम्रो कुरा सुनिसकेपछि, ‘त्यसो भए चल्दै आएको परम्परा नमान्ने ? भन्दै अँध्यारो मुख बनाउनु भयो । मैले आमाको घुंडामा हात राख्दै भनें, ‘होइन आमा, परम्परा मान्ने हो तर वर्षौंदेखि अन्धविश्वासमा चलिआएको कुरालाई हामीले बुझेर पनि निरन्तरता दिए त हामी नै पापी हुन्छौं । तपाईलाई आफ्नो मान्यता तोडी आउनैपर्छ भनेकी हैन र भन्दिन पनि ।

तपाईले त ८० दशकसम्म यहि सिक्दै–बुझदै आउनुभयो तर अब हाम्रो र आउने पुस्तालाई यो ‘महिनावारी बार्नैपर्छ भन्ने कर’ को अध्यायबाट मुक्त गराउन पर्छ। उसलाई बेसन्चो लागेको छ भने आराम गर्छिन नत्र आफ्नो नियमित काम गर्न मन छ भने त्यहि गर्छिन्।’ म त अरु सबै छोरी मान्छेलाई पनि यो सबै भन्छु र आफ्नो घरबाट मौन क्रान्ति सुरु गर्न अपिल गर्छु।

Comments are closed.

'
Scroll To Top