बिहीबार, असोज ५, २०७४ | Thursday, September 21, 2017
न्युज अपडेट

युवा हो, चुनावका नाममा किन लड्छौ आपसमा ?

Ishwar Giri

ईश्वर गिरी

म कुनै राजनैतिक विद्यार्थी हैन र पार्टीगत मान्छे पनि हैन । तर समाजको एक थोरै सचेत युवा र समाज र राष्ट्रको शुभचिन्तक हुँ ।

चुनावका कारण समाज हिंसात्मक भैरहेको छ । हाम्रै आफन्तबीच वैमनस्य, कुटाकुट र मनमुटाव भएको छ । जहाँ सदियौँदेखिको जन्मनाता, रगतको नाता र दूधको नाता पनि तोडिँदै छ आज ।

आखिर किन ? यसको मुख्य कारण के हो ? आधुनिक एवं असक्षम, शिक्षित युवा पुस्ता कतातिर उन्मुख हुँदै छ ? समाज परिवर्तनको लागि राजनीतिको नाममा कुटपिट गर्ने, धाकधम्की दिने, गुन्डागर्दी गर्ने, भ्रष्टाचार गर्ने र ज्यान मार्ने प्रवृत्ति भनेको पहिलेका अशिक्षित, पाखण्डी र मूर्खले गरे ।

पहिला शिक्षाको अभाव थियो । अब हामी नयाँ शिक्षित युवा पुस्ता नयाँ तरिकाले चल्नुपर्छ, जहाँ सामान्य बौद्धिकताको मात्र प्रयोग होस् तर पुराना राजनैतिक पुस्ताले गरेका सबै गलत संस्कारलाई पूर्णबिराम लगाउनैपर्छ ।

नयाँ पुस्ताले नयाँ तरिकाले आफ्नो गाउँ आफैं बनाउ भन्ने मूल मन्त्र लिएर हरेक युवा आआफ्नो गाउँगाउँबाट अनि बस्तीबस्तीबाट चेतनाको दीप बाल्दै अघि बढ्नुपर्छ । बुद्धम शरणम गच्छामीको मर्मलाई आत्मसात् गर्नुपर्छ । हातहातमा कलम, कुटो, कोदालो लिएर दस नंग्रा खियाउनुपर्छ । पसिनाले सिंचाइ गर्नुपर्छ । राष्ट्रिय झण्डा फहराउँदै राष्ट्रिय भावनामा एकाकार हुनुपर्छ ।

गाउँ समाजमा सुखदुःखमा साथ दिँदै, एकअर्कामा भाइचाराको सम्बन्ध राख्दै, हातमा हात मिलार्इ, काँधमा काँध मिलार्इ उठ्नु पर्छ, जुरमुराउनु पर्छ । अनि त्यहाँ विकासको मुहान फुट्छ, समाजमा एकाअर्काबीच राष्ट्रियताको भावना जागृत गराउँछ । माया, ममता र स्नेहको फूल फुल्ने छ । प्रकृतिले दिएको सुन्दर हिमाल (सगरमाथा) हास्ने छ । बुद्धको आत्माले शान्ति पाउनेछ र सहिदको सपना साकार हुनेछ।

सुन्दर, शान्त, सभ्य, सुसंस्कृत र आदर्श समाजको निर्माण हामीले नगरे कसले गर्ने रु हामीले धेरै वर्षदेखि देख्दै आएको कुरा हो, जुनसुकै पार्टी आए पनि झुटो सपना मात्र देखाउने हो । यथार्थमा हामी जनता जहाँको त्यहीँ ।

कांग्रेसले के गर्यो ? एमालेले के गर्यो ? माओवादीले के गर्यो ? राप्रपाले के गर्यो हाम्रो लागि ?

जो आए पनि नेता मात्र बन्ने हुन् । अब आफ्नो चिसो दिमागले सोच्नूस्, खाडीमा हुने लाखौंलाखौं युवायुवती र देशभित्रका बेरोजगार युवायुवतीले ।

सायद हिजो सरकारी जागिर खाना जाँदा घुस दिने पैसा नभएर अयोग्य हुने पनि धेरैजना हुनुहुन्छ होला । अब भोट दिने नदिने जिम्मा तपाईंमा छ ।

समाज परिवर्तन गर्न कुनै डर, त्रास, धम्की, द्वन्द्व, वितृष्णा बढाएर हैन, विनम्रता, हार्दिकता र सभ्य तरिकाले हो । दुःखमा सहारा दिने हाम्रै समाजका मानिसहरु हुन् । छरछिमेकी र आफन्त नै हुन् । त्यतिखेर नेता आउँदैनन् ।

सबैभन्दा ठूलो कुरा, हाम्रो राष्ट्रियता हो, पार्टी हैन । नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे ?

(पुनर्वास, कञ्चनपुरका गिरी हाल सारजहाँ, युनाइटेड अरब इमरेट्समा छन् -सं.) 

Comments are closed.

'
Scroll To Top