अतिवादको शिकार : धर्म र विभाजित मन

ranjit lamaयुगोचित होस् वा नहोस् आफ्नो महत्वाकांक्षालाई राजनीतिक लेपन लगाएर, परिपूर्णता पाउँछ भन्ने सोचले आजभोलि स्थान पाउन थालेको छ । र, यो स्थान दिनप्रतिदिन घनिभूत पनि बन्दै गएको छ ।

धर्म निरपेक्ष, सापेक्ष, तेरो धर्म, मेरो धर्म यी तामाम बखेडाबीच विविध धर्मालम्बीहरू एकअर्कालाई आक्षेप पनि लगाउन थालेका छन् । संयम, सामाजिक सहकार्य, सद्भाव, सहअस्त्विको भाव र सहिष्णुता गुमाउँदै छ, आम नेपालीले । कहिले जातीयताको नाममा त कहिले सीमांकन, राजनीतिक अनि धार्मिक आस्थाको नाममा हामी विभाजित हुँदैछौं ।

सदिर्यौंदेखि एनेकतामा एकताको भावलाई कायम राख्दै आएका हामी, अहिले आएर धार्मिक आस्थाको धारिलो धारमा नेपालीका घाँटी ददारिरहेका छन् । जसले समाज र मुलुक नै विखण्डनको संघारमा पुगेर धार्मिक युद्ध नै छेडिने हो कि ? यस्तै प्रतीत हुन थालेको छ ।

आजको विश्वग्राममा धार्मिक बहस युगोचित हुनसक्छ या सक्तैन तर, धर्मको नाममा भइरहेको यति विघ््न हल्लीखल्लीले सबैको ध्यान तानेको छ । जसले आत्मिक शान्ति र बौद्धिक क्रान्तिमा व्यापकता नल्याई भ्रान्ति र क्रान्तिका जालोलाई फिजारिरहेका छन् । यतिखेर धार्मिक आधिपत्य स्वीकार गर्ने, नगर्ने दुबै खेमाका धार्मिक अतिवादी सल्बलाउदो अवस्थामा छन् ।

धर्मलाई धारण गर्ने, अनुशरण गर्ने, धर्मोपदेशको पालना गर्ने कुरा ओझेलमा पर्दै धर्मका नाममा विभिन्न खालका अपराधिक र अधार्मिक गतिविधि बढी प्रकाशमा आउन थालेका छन् । धर्म भनेको कर्मकाण्ड नै हो भन्ने एकथरि सुजबुझ भएका लामबद्ध भीडले यतिखेर नेपाल देश अटस्मटस् छ ।

धर्मको नाममा पटक–पटक विवाद उठेको सुन्दा र देख्दा निकै आश्चार्य लागेर आउँछ । यसरी किन व्यर्थै धर्मको नाममा बिबाद चुल्याएका होलान् ? किन व्यर्थै अर्थको अनर्थ लगाइरहेका छन् ? धर्मलाई कुनै खतराजन्य पदार्थसँग मेलान गर्दै मानिस यसको पिछलग्गू बनेर लागिरहेका छन् । मानौं लागूपदार्थ सेवनकर्ता लागूपदार्थको आदि भए जस्तै ।
भलिभाति थाहा भएकै कुरा हो, ब्रहमाण्डमा थुप्रै खाले धर्म पालना गर्ने मानिस छन् । जसमध्ये जनसंख्याको आधारमा हेर्ने हो भने प्रमुख धर्मका रुपमा इसाई, इस्लाम, हिन्दू, बौद्ध, यहुदी र अन्य धर्म पर्छन् ।

धर्म भनेको कुनै पनि प्राणिको स्वभाविक गुण हो । मानव युग र मानव संस्कृतिको विकास र स्तरोन्तिसँगै धर्मको अर्थ र परिभाषामा व्यक्ति र समाज अनुसार भिन्नभिन्न मत पाइन्छ । कुनै पनि मानिसको धर्म उसको आफ्नो भावना हो । व्यक्तिको थातथलो र वाताबरण अनुसार धर्ममा विविधता आउनु स्वभाविक प्रक्रियाा पनि हो ।

कतिपयले धर्मलाई आफ्नो नित्यकर्म र कर्तव्यसँग तुलना गर्छन् भने कतिले आत्मसँग जोडेर आध्यात्मिक नियमसँग तुलना गर्छन् । आफ्नो आत्मालाई परमात्मासँगै एकाकार गराउन कसैले धार्मिक स्थलमा केही समय बिताउन चाहन्छन् भने कसैले मूर्ति अथवा तस्बिरमा ईश्वरको स्वरुप खोज्नेभन्दा पनि आफ्नै मनमस्तिष्कलाई एकाग्रचित गर्दै परमात्माप्रति आफूलाई समाहित गर्छन् ।

यो सबै धार्मिक प्रकृया र पद्दति नै ह्न् । जस्को मूल आशय नै आत्मिक सन्तुष्टी, शुद्धिकरण र शान्ति नै हो, परन्तु आजको परिप्रेक्ष्यमा धर्मालम्बीका निम्ति आत्मिक सन्तुष्टि, शुद्धिकरण र शान्तिको अर्थ अपूर्ण र अपभ्रंशमात्रै बन्दै गएको छ । जताततै धार्मिक अतिवादले घर बनाउन थालिसकेको छ । धर्मको नाममै थुप्रै अधार्मिक क्रियाकलाप एकपछि अर्काे गरेर टुसाइरहेका छन् । यस किसिमको धार्मिक अतिवादको शिकार ढिलो चाँडो नेपाल देश नपर्ला भन्न सकिदैन ।

अहिले सम्मको इतिहासमा धर्मको नाममा जति रक्तपात, हिंसा र युद्ध भए अरु कुनै पनि विषय र प्रसङ्गमा भएको छैन । सन् १९९२ ताका बाबरी मस्जिद भत्काइएको नाममा हिन्दू र मुश्लिमबीच भयंकर युद्ध मच्चियो, दिल्ली, मुम्बई र अन्य ठूल्ठूला सहरहसहित यस दंगा लडाईमा २ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका थिए । इसाई र मुसलमानका बीच जेरुसेलम भूमिका निम्ति झण्डै १ सय ९० वर्ष युद्ध चल्यो । इसाई धर्मकै बीच प्रोटेस्टेन्ट र क्याथोलिकबीच पनि युद्ध चल्यो । लाखौं घरबारविहीन भए, हजारौंको ज्यान गयो ।

धर्मको नाममा अन्धाधुन्दा पिछलग्गू हुने यस्ता आचरणगत विशेषताले नै धर्मको नाममा चौतर्फी बिषाक्तता भरिदिएको छ । के धार्मिक, के अधार्मिक ? भनेर अलिकति पनि आत्म समीक्षा गर्नतर्फ किन घोत्लिनन् ? आफ्ना मतका सबै धार्मिक र फरक मतका सबै अधार्मिक भन्ने रुग्ण मान्यताकै उपज हो यो अहिलेकोे अवस्था । अरूका धर्मलाई सुन्ने, पढ्ने, मनन गर्ने धैर्यता समेत हामी सबैले गुमाउँदै गएका छौं । तसर्थ हामी जहाँ छौं, एकपटक त्यहीँ थामिएर गम्भीर भएर सोच्न आवश्यक छ । विभाजित मनले आम धर्मालम्बीलाई पनि विभाजन नै गर्छ । यसले साँघुरो घेराको धर्मलाई मलजल गर्छ, समाजलाई सहमतिविमूख बनाई असहिष्णुतर्पm धकेल्छ । एकात्मक सोच, आत्मकेन्द्रित विचार र अतिवादी अडान अहिलेको धार्मिक अपूर्व संकटको जड हो ।

नेपालकै परिप्रेक्ष्यमा हेर्ने हो भने केही समय पहिले पशुपतिका जटाधारी बाबाले हिन्दूराष्ट्र नभए ‘गुरिल्ला युद्ध’ गर्ने भनी डङ्का पिटेका थिए । अहिले रामनामी च्यादर ओढेर सुरुमुनीदेखि भुसुनासम्म आन्दोलित भएका छन् । रगतको आहाल बनाउने घोषणा गर्न पनि पछि पर्दैनन् । धार्मिक माला मात्रै हैन धार्मिक भाला पनि चलाउने चेतावनी दिएका छन् ।

के अहिलेसम्मको धार्मिक आस्था र धार्मिकताले यही कुरा सिकाएको हो ? के हामीले वर्षौदेखि पुज्दै आएको धर्मले हामीलाई यही गर्न अह्राएको र उकासेको हो त ? धर्मले मानवलाई मानवीयता भर्न सिकाउँने हैन र ? आत्मिक सन्तुष्टि, शान्तिको थातथलोमा विराजमान गराउदै मानवलाई बास्तबमै मानवीय तबरले दीक्षित गराउँने हैन र ? तर, धर्ममा आजभोलि अधार्मिकताको अफीम लेपिएको छ । धर्मले यदी अतिवादलाई जन्माउछ भने त्यो धर्म हुनै सक्तैन., त्यो धर्मको नाममा गरिने राजनीति हो । र, हामीलाई थाहा छ, राजनैतिक मन वा आत्माले धर्म खोजे पनि मस्तिष्क अधर्मतर्फ अग्रसर भइरहेको हुन्छ ।

बहुल जाति, भाषी र संस्कृतिक घच्चाघमासान नेपाल जस्तो देशमा, राज्यले एउटै थरीका आत्माको कर्मकाण्डलाई मात्र बैधता दिनु आजको विश्वग्राममा कत्तिको वैज्ञानिकता होला ? धर्मलाई प्रतिशतमा मापन गर्दै, बहुमतको कदर र अल्पमतको अनादर भन्ने हुङ्कार कत्तिको यथोचित र युगोचित रहला ? ‘सानो छ तर, स्वर्ग छ, अल्प छ तर आँखो छ’ भन्ने सत्यप्रति किन अलमस्त छ ?

सामाजिक र सांस्कृतिक विविधताअनुसार राज्यका कर्मकाण्ड फरकफरक हुन सक्छन् । सबै थरीका कर्मकाण्डलाई समतामूलक ढङ्गले पहिचान गरी राज्यले अल्पमतको कदर गर्दै आत्मसात गर्न सक्नुपर्छ । अनि हुन्छ धार्मिकता ।

SHARE