चाडपर्वको बिदा कटौति गर्ने निर्णय खारेज गर्न माग

619
  •  
  •  
  •  

काठमाडौं, २५ मंसिर(ओएनएस) : नेपाल आदिवासी जनजाति महासंघले सांस्कृतिक चाडपर्वको बिदा कटौति गर्ने निर्णय खारेज गर्न माग गरेको छ ।

महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सांस्कृतिक चाडपर्वको बिदा कटौति गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गर्दै दबाबमूलक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष जगतबहादुर बरामले आफूहरुको पहिचानको रुपमा रहेका सांस्कृतिक चाडपर्वको बिदा कटौति खारेज गर्न माग गर्दै दबाबमूलक आन्दोलन शुरु गर्नुपरेको बताए ।

महासंघले मंसीर २९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने, पुस १ गते विदेशस्थित सबै नेपाली दूतावासमार्फत समेत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

त्यसैगरी महासंघले पुस १ गते नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नो माग सम्बोधनका लागि पहल गरिदिन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ ।

पुस २ गते सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र पुस ३ गते प्रधानमन्त्री ओलीलाई पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको अध्यक्ष बरामले बताए ।

यस्तै पुस ४ गते सबै जिल्ला प्रशासन कार्यालय, सबै प्रदेशका मुख्यमन्त्रीको कार्यालय र काठमाडौंको माइतीघर मण्डलामा धर्नासमेत दिने कार्यक्रम तय गरेको छ ।

 


  •  
  •  
  •