रसुवागढी नाकामा २१ दिनपछि कारोबार सुरु, ८० वटा कन्टेनर भित्रिए

1214
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन (अाेएनएस) : चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीमा २१ दिनपछि कारोबार सुरु भएको छ।

कारोबार सुरु भएसँगै मंगलबार ८० वटा कन्टेनर नेपाल भित्रिएका छन् भने ५० वटा कन्टेनर चीन प्रवेश गरेको शसस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाका गुल्मपति एंवम प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश वाग्लेले बताए।

ग्याल्बो ल्होसारको कारण फागुन १ गतेदेखि चिनियाँ ट्रान्सपोर्ट बन्द भएपछि रेडिमेट सामग्री र इलेक्ट्रोनिक सामग्रीको आयात रोकिएको थियो ।अन्य सामग्री नभित्रिए पनि स्याउ नियमित भित्रिरहेको थियो।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुने गरेको छ । त्यस्तै नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचोलगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ।

कार्यालयले साउन महिनादेखि पुस मसान्तसम्ममा एक अर्ब ६० करोड ९५ लाख राजश्व संकलन भएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाले बताए ।

रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ।चीनले अन्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ ।

 


  •  
  •  
  •