डेढ क्वीन्टल भन्दा बढी गाँजासहित इन्धन ट्यांकरका चालक र सहयाेगी पक्राउ

69
  •  
  •  
  •  

काठमाडाैँ, ३ बैशाख (अाेएनएस) : डेढ क्वीन्टल भन्दा बढी गाँजासहित इन्धन ट्यांकरका चालक र सहयाेगीलार्इ प्रहरीले पक्राउ गरेकाे छ।

काठमाडाैँ चन्द्रागिरी नगरपालिका-२ झ्याप्ले खोलास्थित सडक किनाराबाट कम्प्रेस्ड गरिएको एक सय ६० किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेकाे हाे। उक्त गाँजासहित इन्धन ट्यांकरसमेत प्रहरीले नियन्त्रणमा लिएकाे छ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरद्धाराखटिएको प्रहरी टोलीले शनिबार उक्त गाँजासहित इन्धन ट्यांकरका चालक र सहयाेगीलार्इ नियन्त्रणमा लिएकाे थियाे।

पक्राउ पर्नेहरुमा ना.४ ख ५३६८ नम्बरको इन्धन ट्यांकरका चालक मकवानपुर थाहा नगरपालिका-११ का २२ वर्षीय सोमबहादुर थोकर र मकवानपुर कैलाश गाउँपालिका-२ का ३६ वर्षीय इमानसिंह स्याङवो रहेका छन् ।

प्रहरीले उक्त ट्यांकरको क्याविनमा ७ वटा प्लाष्टिकका बोराभित्र प्लाष्टिकमा प्याक गरी डोरीले बाँधिएको १७ पोकाको गाँजा बरामद गरेकाे थियाे।

बरामद गाँजा सर्लाहीको मलंगवा हुँदै भारततर्फ निकासी गर्न लागेको प्रहरीले जनाएकाे छ । दुवैजना लामो समयदेखि अवैध लागूऔषध गाँजा कारोबारमा संलग्न रहेको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यसबारे व्यूरोले थप अनुसन्धान गरिरहेकाे ब्युराेका प्रमुख ठुले राइले बताए  ।


  •  
  •  
  •