११ महिनामा देशभर सवारी दुर्घटनाबाट दुई हजार बढीको ज्यान गयो, प्रहरी भन्छ यस कारणले हुन्छ सवारी दुर्घटना !

776
  •  
  •  
  •  

काठमाडौँ, ७ असार (ओएनएस) : देशभर चालु आर्थिक वर्षको जेठ मसान्तसम्म दुई हजार बढीले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । नेपालमा साँघुरा सडक र सवारी साधनको संख्या बढी हुँदा ज्यान गुमाउनेको संख्यामा वृद्धि भएको प्रहरीको भनार्इ छ।

प्रहरीको तथ्याङक अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देशभर दुई हजार ३१८ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । जसमध्ये काठमाडौँ उपत्यकामा मात्र ज्यान गुमाउनेको संख्या १६८ रहेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको आयोजनामा ‘सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी एकदिने सम्मेलन’मा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले कानूनको पालना र अनुशासनका साथ यात्रा गरे सवारी दुर्घटनामा कमी आउने बताए । उनले भने,ुप्रतिस्पर्धाका कारण सवारी चलाउँदा दुर्घटनामा वृद्धि भएको होु

ट्राफिक व्यवस्थापनका लागि ट्राफिक बत्ती, आकाशे पुल निर्माण, बसस्टपको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले काम गरिरहेको उनको भनाइ छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेले सार्वजनिक सवारी साधनमा हुने महिला हिंसा रोक्न महानगरीय प्रहरी कार्यालयले विशेष योजना बनाएर लागू गर्न लागेको बताए।

चालु आर्थिक वर्षको जेठ मसान्तभित्र उपत्यकामा पाँच हजार ७८१ दुर्घटनामा परी १६८ जनाको मृत्यु र चार हजार ९९ जना घाइते भएको महाशाखाका प्रमुख वसन्तकुमार पन्तले जानकारी दिनुभयो । “कूल दुर्घटनाको ८० प्रतिशत दुर्घटना मानवीय कारणबाट हुने गरेको छ”, उहाँले भन्नुभयो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जानेका कुरालाई व्यवहारमा उतार्न सकेमात्र सवारी दुर्घटनामा कमी आउने बताए। यातायात व्यवस्था विभागका निमित्त महानिर्देशक प्रेमकुमार सिंहले चालककै कारण धेरैै दुर्घटना हुने भएकाले यसलाई रोक्न सकेमात्र पनि सवारी दुर्घटना कम हुने बताए ।

सवारी दुर्घटनाबाट मुलुकभर प्रत्येक दिन औशतमा सात जनाको मृत्यु हुने गरेको छ । हाल नेपालभर ३० लाख ५२ हजार ३९७ र काठमाडौँ उपत्यकामा मात्र झण्डै ११ लाख सवारी साधन रहेका छन् ।


  •  
  •  
  •